२२ विद्यालयसँग भीमदत्त नगरपालिकाले माग्यो स्पष्टीकरण
महेन्द्रनगर — अत्यधिक गर्मीका कारण बिदा घोषणा गरिएका दिनमा समेत विद्यालय सञ्चालन गरेको भन्दै भीमदत्त नगरपालिकाले एक सामुदायिक विद्यालयसहित २२ वटा विद्यालयसँग स्पष्टीकरण माग गरेको छ । नगरपालिकाले जेठ ११ गतेदेखि १३ गतेसम्म तीन दिनका लागि विद्यालय बिदा दिने निर्णय गरेको थियो । तर उक्त निर्णयको अवज्ञा गर्दै केही विद्यालयले पठनपाठन सञ्चालन गरेको गुनासो आएपछि नगरपालिकाले स्पष्टीकरण सोधेको हो ।
नगरपालिकाले जारी गरेको पत्रमा बिदासम्बन्धी सूचना अवज्ञा गरी विद्यालय सञ्चालन गरिएको हो वा होइन ? यदि गरिएको हो भने किन गरिएको हो ? भन्ने विषयमा दुई दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिइएको छ ।
स्पष्टीकरण सोधिएका विद्यालयमध्ये २१ वटा संस्थागत तथा एउटा सामुदायिक विद्यालय रहेका छन् ।
नगरपालिकाले अन्य विद्यालय बन्द रहेका बेला ती विद्यालय सञ्चालन गर्नुपर्ने अवस्था किन आयो भन्नेबारे समेत स्पष्ट पार...














