नयाँ खबर
धनगढी – नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा पीडितलाई सहयोग गर्ने निर्णय गरेको छ।
एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलको अध्यक्षतामा तथा पार्टीका उपमहासचिव लेखराज भट्टको विशेष उपस्थितिमा बुधबार बसेको दलको बैठकले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको हो।
बैठकले पार्टीको केन्द्रीय सर्कुलरअनुसार सुदूरपश्चिम प्रदेशसभाका प्रत्येक एमाले सांसदले आफ्नो मासिक तलबबाट सात दिन बराबरको १३ हजार १८३ रुपैयाँ कट्टा हुने गरी पार्टीको विपद् राहत कोषमा जम्मा गर्ने सर्वसम्मत निर्णय गरेको छ। साथै, बाढीपीडितलाई सहयोग गर्न सबैमा आह्वान गर्ने निर्णयसमेत गरिएको छ।
त्यसैगरी, प्रदेश कमिटीले मन्त्री, राज्यमन्त्री तथा प्रदेशसभा सदस्यका सचिवालयमा कर्मचारी तथा सहयोगी नियुक्त गर्दा आफन्त तथा नातागोतासँग प्रत्यक्ष सम्बन्ध भएका र पार्टीका गतिविधिमा संलग्न नरहेका व्यक्तिलाई नियुक्त नगर्न दिएको सुझावबारे पनि बैठकले चासो व्यक्त गरेको छ।
बैठकले प्रदेश कमिटीले तय गरेको मापदण्डअनुसार सचिवालयमा कर्मचारी तथा सहयोगी नियुक्त गरिएको छ वा छैन भन्ने विषयमा स्पष्ट विवरण प्रदेश कमिटी र संसदीय दलको कार्यालयमा उपलब्ध गराउन सम्बन्धित पक्षलाई आग्रह गर्ने निर्णय गरेको छ।
बैठकमा दलका उपनेता सन्तोष शर्मा थापा, प्रमुख सचेतक सुरेन्द्रबहादुर पाल, सचेतक निर्मलादेवी साउदसहित प्रदेशसभा सदस्यहरूको सहभागिता थियो।
बैठकमा एमाले उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टसँगै पार्टीका इन्चार्ज तथा केन्द्रीय सदस्य दामोदर भण्डारी र सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कृष्णप्रसाद जैसीको विशेष उपस्थिति रहेको थियो।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।