नयाँ खबर
नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पहिरो वर्षादमा बढ्न थालेपछि बस्ती, खेतीयोग्य जमिन, सडक तथा खानेपानीका संरचना जोखिममा परेका छन्।

स्थानीय नरेश बोहराका अनुसार २०७८ साल कात्तिकदेखि वर्षायाममा निरन्तर बग्दै आएको पहिरो यस वर्ष साउन २६ गते साँझ करिब ७ बजेदेखि थप सक्रिय भएको हो। पहिरो गाउँको मध्यभागबाट खस्न थालेपछि स्थानीयवासीको घर तथा खेतीयोग्य जमिन जोखिममा परेको छ।
पहिरोका कारण उद्धव बोहराको घर विस्थापित भइसकेको उनले बताए । त्यसैगरी रामसिंह बोहरा, मीना बोहरा, धन्वा बोहरा, गम्भीरसिंह बोहरा, कृष्ण बोहरा र चक्र बोहराको घरसमेत पहिरोको जोखिममा परेको छ।

पहिरोले स्थानीयको करिब ५०–६० रोपनी खेतीयोग्य जमिनमा क्षति पुर्याएको छ। कैलास बोहरा, नरबहादुर बोहरा, भनुवा बोहरा, सलेन्द्र बोहरा, जयसिंह बोहरा, धौली बोहरा, योगेन्द्र बोहरा, डम्मरसिंह बोहरा, आनन्दसिंह बोहरा, जनक बोहरा, लालबहादुर बोहरा, उत्तम बोहरा र पठानसिंह बोहरालगायतको जमिनमा लगाइएको मकै, दाल तथा फलफूल बाली पहिरोमा पुरिएको स्थानीय नरेशले बताए ।
पहिरोका कारण गाउँका विभिन्न स्थानमा रहेका विद्युत्का पोल ढलेपछि विद्युत् सेवा अवरुद्ध भएको थियो। स्थानीय सरकारको पहलमा मर्मतपछि साउन ३१ गते साँझदेखि विद्युत् सेवा पुनः सञ्चालनमा आएको स्थानीयले बताएका छन्।
पहिरोले मानिस तथा पशुचौपायाको आवतजावतका लागि प्रयोग हुँदै आएका दुईदेखि चारवटा सार्वजनिक बाटोसमेत भत्काएको छ। बाटो अवरुद्ध हुँदा दैनिक आवतजावतमा समस्या भएको छ।
त्यस्तै, खानेपानीका पाइपमा क्षति पुगेपछि स्थानीय दूषित पानी प्रयोग गर्न बाध्य भएका छन्। दूषित पानीका कारण विभिन्न संक्रामक रोग फैलिन सक्ने जोखिमसमेत रहेको स्थानीयको भनाइ छ।
पहिरो गएको क्षेत्रमा अझै ठूलो भूभागमा दरार देखिएको र वर्षासँगै बाँकी भूभागसमेत खस्ने क्रम जारी रहेको स्थानीयले बताएका छन्। यसका कारण जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था आएको छ।
पहिरो प्रभावित परिवारहरू रातको समयमा समेत सुरक्षाका लागि जाग्राम बस्नुपर्ने अवस्थामा छन्। तत्कालका लागि केही परिवारले छिमेकीको घरमा आश्रय लिनुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन्।
स्थानीयवासीले पहिरोको तत्काल प्राविधिक अध्ययन गरी जोखिममा रहेका परिवारको उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन्। उनीहरूले प्रभावित परिवारका लागि राहत, अस्थायी बसोबासको व्यवस्था तथा खेतीयोग्य जमिनको क्षतिको उचित मूल्यांकन गर्नसमेत सरकारसँग आग्रह गरेका छन्।
पहिरोको दीर्घकालीन समाधानका लागि स्थानीय, प्रदेश र संघीय सरकार, सुरक्षा निकाय, नेपाल रेडक्रस सोसाइटीलगायत सम्बन्धित निकायले तत्काल आवश्यक कदम चाल्नुपर्ने स्थानीयवासीको माग छ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।