नयाँ खबर
महेन्द्रनगर – कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित राधाकृष्ण मन्दिर परिसरमा स्थानीय युवाहरूको सक्रियतामा आयोजना गरिएको तीज विशेष कार्यक्रमबाट संकलित रकम बाढीपीडितका लागि सहयोग गरिएको छ।

भदौ २८ र २९ गते दुई दिन सञ्चालन भएको तीज विशेष कार्यक्रममा स्थानीय तथा सहभागीहरूबाट कुल ५८ हजार ६९२ रुपैयाँ संकलन भएको थियो। कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका क्रममा २७ हजार ३० रुपैयाँ खर्च भएको थियो। खर्च कटाएर बाँकी रकममध्ये ३१ हजार ५०५ रुपैयाँ बाढीपीडितका लागि सहयोग गरिएको हो।

संकलित सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको आयोजकले जनाएको छ। पछिल्लो समय विपद्का कारण प्रभावित भएका परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले कार्यक्रमबाट प्राप्त रकम सामाजिक सेवामा प्रयोग गरिएको हो।

स्थानीय युवाहरूले तीज पर्वलाई केवल मनोरञ्जन र सांस्कृतिक कार्यक्रमका रूपमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्ने प्रयास गरेका हुन्। तीज कार्यक्रममा सहभागी स्थानीय महिला तथा युवाहरूको उत्साहजनक सहभागितासँगै आर्थिक सहयोग पनि संकलन गरिएको थियो।

आर्थिक संकलन समितिका सदस्य अम्बा दत्त जोशीका अनुसार विपद्मा परेका परिवारलाई आफ्नो तर्फबाट सकेको सहयोग पुगोस् भन्ने उद्देश्यले रकम संकलन गरिएको हो। उनले पर्व तथा सांस्कृतिक कार्यक्रमलाई सामाजिक सेवासँग जोड्दै आवश्यक परेका व्यक्तिलाई सहयोग गर्ने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताए ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।