नयाँ खबर
काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्।
चीनको साङ्घाईस्थित अक्टागनमा जारी रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डकलाई पराजित गर्दै ढाँटले फाइनलमा स्थान बनाएका हुन्। उनी रोड टु युएफसीको फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बनेका छन्।
अब फाइनल जित्न सके ढाँटले विश्वकै प्रतिष्ठित एमएमए संस्था युएफसी (UFC) सँग व्यावसायिक सम्झौता गर्ने अवसर प्राप्त गर्नेछन्।
‘बझाङ्गी बाघ’ उपनामले परिचित ढाँटले बान्टमवेट विधामा हालसम्म ११ खेल खेलेका छन्। उनले १० खेलमा जित हात पार्दा एक खेलमा मात्रै पराजय व्यहोरेका छन्। सन् २०२३ मा इस्माइल खानसँग पराजित भएपछि ढाँटले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।
गत वर्ष भारतको नोएडामा आयोजित म्याट्रिक्स फाइट नाइट–१७ को बान्टमवेट उपाधि जितेपछि उनी थप चर्चामा आएका थिए। उनले भारतका चर्चित फाइटर चुनरेङ कोरेनलाई तेस्रो चरणमा नकआउट गर्दै उपाधि जितेका थिए। उक्त जितसँगै उनी म्याट्रिक्स फाइट नाइटको बान्टमवेट उपाधि जित्ने पहिलो नेपाली खेलाडीसमेत बनेका थिए।
ढाँटले गत मे महिनामा मकाउमा आयोजित रोड टु युएफसी सिजन–५ को क्वाटरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए। त्यसअघि नै उनी रोड टु युएफसीको सेमिफाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बनेका थिए।
लगातारको उत्कृष्ट प्रदर्शनसँगै ढाँटले अब नेपाली एमएमएको इतिहासमै सबैभन्दा ठूलो उपलब्धि हात पार्ने अवसर पाएका छन्। फाइनलमा पनि जित निकाल्न सके उनको युएफसी यात्राको ढोका खुल्नेछ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।