महेन्द्रनगर : निर्माण व्यवसायी संघ कञ्चनपुरको १५औं अधिवेशनलाई लक्षित गर्दै वर्तमान अध्यक्ष निरञ्जन प्रसाद भट्टले आफ्नो प्यानल घोषणा गरेका छन् । शनिबार पत्रकार सम्मेलन गरी पूर्व अध्यक्षहरुलाई साक्षी राख्दै पदाधिकारीको पूर्ण प्यानल सार्वजनिक गरिएको हो ।
भट्टको प्यानलमा वरिष्ठ उपाध्यक्षमा देबबहादुर चन्द, उपाध्यक्षमा दीपक भट्ट, महासचिवमा योगेन्द्र ठकुराठी, सचिवमा बृजकिशोर चन्द, कोषाध्यक्षमा तेजबहादुर चन्द र सह–कोषाध्यक्षमा हेम महरा रहेका
छन् ।
संघको अधिवेशन भदौ २० र २१ गते हुने तय भएको छ । कार्यतालिका अनुसार २० गते उम्मेदवारी दर्ता र २१ गते निर्वाचन हुनेछ ।
प्यानल घोषणा कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार भट्टले आफ्नो नेतृत्वमा विगतमा भुक्तानी नदिने कार्यालयमा तालाबन्दी, बोलपत्र सम्बन्धी नीति–नियम संशोधन लगायत महत्वपूर्ण पहल भएको उल्लेख गर्दै व्यवसायीहरूको आग्रह र समर्थनकै आधारमा फेरि उम्मेदवारी दिएका बताएका छन् । उनले यसपटक अस्वस्थ प्रतिस्पर्धा अन्त्य गर्दै युवा टोलीमार्फत स्वस्थ वातावरण निर्माण आफ्नो प्राथमिकता हुने बताए ।
भट्टको प्यानललाई समर्थन जनाउन संघका पूर्व अध्यक्षहरु गजेन्द्र बहादुर चन्द, लोकबहादुर ठकुराठी, प्रेम प्रकाश भट्ट, भुवनराज भट्ट लगायतका व्यक्तिहरु उपस्थित थिए । कञ्चनपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गणेश दत्त जोशी समेत कार्यक्रममा सहभागी थिए ।
पूर्व अध्यक्ष प्रेम प्रकाश भट्टले जिल्लामा दररेट बढाउनेदेखि व्यवसायी भुक्तानीसम्मका विषयमा भट्ट नेतृत्वले गरेको पहल उल्लेख गर्दै फेरि पनि निरञ्जन भट्टको आवश्यकता महसुस गरिएको बताए । अर्का पूर्व अध्यक्ष भुवनराज भट्टले अहिलेको नेतृत्वले सकारात्मक काम गरिरहेको भन्दै निरन्तरता आवश्यक रहेको धारणा राखे ।
संघका संस्थापक गजेन्द्र विक्रम थापाले व्यक्तिगतभन्दा व्यवसायिक हितलाई प्राथमिकता दिन सुझाव दिँदै भट्टको प्यानल त्यसका लागि सक्षम रहेको बताए । पूर्व अध्यक्ष लोकबहादुर ठकुराठीले विधानले दुई कार्यकाल नेतृत्व गर्न सक्ने व्यवस्था रहेको भन्दै भट्टको टोली व्यवसायीका हकहितका लागि लड्न सक्ने प्रमाणित भएको धारणा व्यक्त गरे ।
त्यस्तै, पूर्व केन्द्रीय सदस्य प्रेमसिंह भण्डारीले अस्वस्थ प्रतिस्पर्धा, सरकारले बजेटविनै ठेक्का खोल्ने प्रवृत्ति र समयमै काम सम्पन्न नहुँदा भएको मूल्यवृद्धिले व्यवसायीहरु मारमा परेको बताए ।
अधिवेशन नजिकिँदै गर्दा कञ्चनपुरका निर्माण व्यवसायीहरूबीच नेतृत्व चयनका लागि चहलपहल तीव्र भएको छ भने निरञ्जन भट्टको प्यानलले पूर्व अध्यक्ष र व्यवसायी समुदायको समर्थनसहित निर्वाचनमा प्रवेश गरेको छ ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।