महेन्द्रनगर–कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० स्थित कलकत्ता क्षेत्र नजिकै निर्मल शारदा आर्यघाटमा केही दिन अघि भएको रहस्यमय र दर्दनाक घटनाले स्थानीयमा शोक र आक्रोश फैलिएको छ । बेलडाँडी गाउँपालिका वडा नम्बर ३ कमरीका ५० वर्षीय हरिकिसन राना मोटरसाइकलसहित पूर्ण रूपमा जलेको अवस्थामा फेला परेपछि घटनाले थप रहस्य पैदा गरेको हो । राना गत मंगलबार बिहानै घरबाट निस्किएर करिब ७ किलोमिटर टाढाको आर्यघाट क्षेत्र पुगेका थिए, जहाँ उनी मृतावस्थामा भेटिएका हुन् । परिवारजनले रानालाई हातखुट्टा बाँधेर जलाइएको आशङ्का व्यक्त गर्दै निष्पक्ष छानबिन र परिवारजनको भरणपोषणको माग गरेका छन् । घटनाको गम्भीरता देखेर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । तालिम प्राप्त कुकुरको सहयोगमा समेत घटनास्थलको अनुसन्धान गरिएको थियो । बेलडाँडी-बेलौरीका स्थानीय जनप्रतिनिधि र सङ्घीय सांसदको उपस्थिति तथा प्रहरीको गम्भीर अनुसन्धानले घटनाका दोषीहरू चाँडै सार्वजनिक हुने अपेक्षा स्थानीयवासीले गरे पनि घटनाको रहस्य के हो भन्ने कुरा अझै खुल्न बाँकी रहेको छ ।
यही घटनालाई लिएर कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तारा लामा तामाङले आइतबार संसद्को आकस्मिक समय लिएर सरकारको ध्यानाकर्षण गराउनु भएको छ । सांसद तामाङले रानाको मोटरसाइकल र शरीरमा आगो लगाई हत्या गरिएको भन्दै घटनाको निष्पक्ष छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न आग्रह गर्नुभएको हो । उहाँले सभामुखमार्फत सरकारलाई गम्भीर ध्यानाकर्षण गराउँदै उक्त घटनाका साथै कञ्चनपुरकै निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष पूरा हुन लाग्दा पनि अपराधी पत्ता लगाउन नसक्नु दुःखद पक्ष रहेको भन्नुभएको छ । सांसद तामाङले हाल शिक्षकहरूले गरिरहेको आन्दोलनसम्बन्धी विषयमा पनि संसद्मा बोल्नु भएको छ । उहाँले शिक्षकहरूका जायज माग सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिनुका साथै शिक्षकहरूले समेत कार्यस्थलमा फर्किएर शिक्षा क्षेत्रमा जिम्मेवारीपूर्वक काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।