नयाँ खबर
महेन्द्रनगर – कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाली करिडोर र दैजी–जोगबुडा सडक कालोपत्रे लगायतका पूर्वाधार विकासका कामलाई प्राथमिकता दिन प्रदेश सरकारका नब नियुक्त मुख्यमन्त्री लगायत मन्त्रीसँग आग्रह गरेको छ ।

संघका अध्यक्ष दिनेश मल्लको नेतृत्वमा बुधबार अस्थायी राजधानी धनगढी पुगेको प्रतिनिधिमण्डलले नवनियुक्त मुख्यमन्त्री खगराज भट्टलगायत मन्त्रीहरूलाई भेटी प्रदेशको आर्थिक बिकाशका लागि दैजी जोगबुडा सडक खण्डलाई कालोपत्रे कार्य गर्न आग्रह गरेको हो ।

बाणिज्य संघको प्रतिनिधिमण्डलले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावल, आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्ल र भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाटसँग भेट गरी प्रदेशको आर्थिक विकाससँग सम्बन्धित विभिन्न विषयमा समेत ध्यानाकर्षण गराएको छ ।

कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा उद्योग स्थापना तथा सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न आग्रह गरेका अध्यक्ष मल्लले प्रदेशका सबै क्षेत्रमा सडकको सहज पहुँच हुनुपर्ने बताए । कञ्चनपुर जिल्लामा औद्योगिक क्षेत्र घोषणा गरेर मात्रै नपुग्ने उल्लेख गरेका अध्यक्ष मल्लले औद्योगिक क्षेत्रको सञ्चालन तथा विकासको लागि दैजी जोगबुडा सडक पनि कालोपत्रे हुन् जरुरी रहेको बताए । त्यसैगरी उनले जनताका प्रत्यक्ष जनजीविका सँग जोडिएका सडक लगायतका विकाशका पूर्वाधारलाई प्राथमिकता दिन मुख्यमन्त्री भट्टलाई आग्रह गरे ।
उनले महेन्द्रनगर स्थित विमानस्थल निर्माणको कार्य गर्नसमेत प्रदेश सरकारको ध्यानाकषर्ण गराए।
संघले उद्योगी व्यवसायीले भोग्दै आएका विभिन्न समस्या समाधान गरी लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा समेत जोड दिएको छ । निजी क्षेत्रको विकासबिना प्रदेशको आर्थिक समृद्धि सम्भव नहुने भएकाले सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको अध्यक्ष मल्लले बताए।
भेटका क्रममा मुख्यमन्त्री भट्टले उद्योगी व्यवसायी देशको आर्थिक मेरुदण्ड भएको बताउँदै संघले उठाएका विषय आफ्नो प्राथमिकतामा रहेको बताए ।
दैजी-जोगबुडा-बुडर सडक प्रदेश गौरवको योजना भएको र आफ्नो एक नम्बर प्राथमिकतामा परेको मुख्य मन्त्री भट्टले बताए ।
निजी क्षेत्रसँग सहकार्य र छलफल गरी आगामी बजेट निर्माण गर्ने बताउँदै उनले उद्योग तथा व्यवसाय क्षेत्रका समस्या समाधानमा सरकार सकारात्मक रहेको समेत उल्लेख गरे ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।