नयाँ खबर
काठमाडौं – नागरिक उन्मुक्ति पार्टी(नाउपा)मा बुहारीलाई हटाएर ससुरा अध्यक्ष बनेका छन् । नाउपामा अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाएर लालविर चौधरी अध्यष बनेका हुन् । अध्यक्ष रञ्जिता श्रेष्ठसँग असन्तुष्ट पक्षले बिहीबार आयोजना गरेको राष्ट्रिय भेलाले श्रेष्ठलाई अध्यक्ष पदबाट हटाउँदै पार्टीका संरक्षक रेशम चौधरीका बुबा एवं सांसद लालवीर चौधरीलाई सर्वसम्मतिले नयाँ अध्यक्ष चयन गरेको छ ।
भेलापछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै नवनिर्वाचित अध्यक्ष चौधरीले पार्टीलाई विधि र पद्धतिमा चलाउन आफूहरूले यो कदम चाल्न बाध्य भएको बताए। ‘पार्टीको अवस्था र परिस्थितिले गर्दा हामीले यो निकास खोजेका हौँ,’ उनले भने, ‘डेढ वर्षदेखि बैठक नडाकेकाले पार्टी अनिर्णयको बन्दी बनेको थियो। रुपन्देहीमा उपनिर्वाचन आइसकेको अवस्थामा उम्मेदवारी दिने प्रक्रिया अघि बढाउन पनि यो निर्णय आवश्यक थियो।’
उपस्थित एक नेताले बहुमत केन्द्रीय सदस्यले बैठक बोलाउन आग्रह गर्दा अध्यक्ष श्रेष्ठले बेवास्ता गरेको आरोप लगाए। ‘हामीले २४ घण्टे समय दिएर बैठक बोलाउन आग्रह ग¥यौँ, तर उहाँले कुनै जानकारी नगराएपछि बहुमत केन्द्रीय सदस्य, सांसद र स्थानीय तहका जनप्रतिनिधिहरूको उपस्थितिमा यो भेला आयोजना गरिएको हो,’ उनले भने।
नवनिर्वाचित अध्यक्ष चौधरीले पूर्वअध्यक्ष श्रेष्ठले लगाएको ‘अवैधानिक’ भेलाको आरोप खण्डन गरे। ‘हामीले उहाँलाई कारबाहीको रूपमा हटाएका होइनौँ, यो पार्टीलाई निकास दिन गरिएको विधि र पद्धतिसम्मत निर्णय हो,’ उनले भने, “उहाँले अझै पनि आएर पार्टीमा आफ्नो भूमिका खोज्न सक्नुहुन्छ।’
यो निर्णयसँगै नागरिक उन्मुक्ति पार्टीमा दुई समानान्तर नेतृत्व खडा भएको छ। लालवीर चौधरी पक्षले आफ्नो निर्णय आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगमा प्रक्रिया अघि बढाउने जनाएको छ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।