काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार आतंक र त्रासकाे जगमा बनेकाे बताउनुभएकाे छ ।
एमालेको महाधिवेशनका लागि गठन गरिएको प्रचार समितिद्वारा आज पार्टी कार्यालय, च्यासलमा आयोजित ११ औँ महाधिवेशनको प्रतीक चिन्ह (लोगो) सार्वजनिक कार्यक्रममा बाेल्दै अध्यक्ष ओलीले वर्तमान सरकार आतङ्क र त्रासको जगमा संविधान विपरीत बनेको बताउनुभयो । सरकारका नाममा सिंहदरबारमा एक प्रकारको बुख्याचा प्रवेश गराइएको ओलीले टिप्पणी गर्नुभयो।
जनताद्वारा निर्वाचितहरू सरकार बाहिर र अनिर्वाचितहरू सिंहदरबारमा बस्ने अवस्था लोकतन्त्र र संविधान विपरीत हुने उहाँकाे धारणा छ। उहाँले वर्तमान सरकार संविधान विपरीत रहेको र विघटित संसद् पुनःस्थापित हुनुपर्ने प्रश्न स्वाभाविक रूपमा उठिरहेको बताउनुभयो।
यो सत्यलाई निर्भयतापूर्वक उठाउन सक्ने राजनीतिक शक्ति एमाले मात्रै भएको ओलीले दाबी गर्नुभयो । ओलीले संविधान र जनमतको सम्मानका पक्षमा पार्टी अडिग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
ओलीले पार्टीको आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनले उन्नत स्तरको एकता प्रदर्शन गर्ने विश्वास पनि व्यक्त गर्नुयाे । सर्वसम्मतिको नाममा प्रतिस्पर्धा रोकिनुपर्छ वा जसरी पनि चुनाव हुनैपर्छ भन्ने धारणा दुवै गलत रहेको उहाँले स्पष्ट पार्नुभयो।
अध्यक्ष ओली उहाँले पार्टी अध्यक्षको हैसियतमा आफ्नो ध्यान सहमति, एकता, रूपान्तरण र पुस्तान्तरणमा रहने बताउनुभयो । ‘सर्वसम्मतिका नाममा भावनात्मक रूपमा कसैलाई रोकाउने–छेकाउने काम हुँदैन, स्वच्छ प्रतिस्पर्धा हुन्छ, एमालेमा लोकतन्त्र छैन भनेर टिप्पणी गरिरहनुपर्ने अवस्था छैन,’ ओलीले भन्नुभयो।
उहाँले महाधिवेशनमा प्रतिस्पर्धा गर्ने अवसर सबैका लागि खुला हुने स्पष्ट पार्नुभयाे । तर नकारात्मक टिप्पणी, एक–अर्कालाई होच्याउने, अपमान गर्ने, बदनाम गर्ने क्रियाकलापबाट भने सबै कार्यकर्ता र नेताहरू दूर रहन आवश्यक रहेकाे उहाँकाे धारणा छ ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।