नयाँ खबर
काठमाण्डौ–नेपाली सेनाले बुधबार साँझसम्म देशभर निषेधाज्ञा र त्यसपछि भोलि विहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ । जेनजी आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा अराजक र हिंसात्मक गतिविधि बढेपछि शान्ति सुरक्षाका लागि उक्त कदम चालिएको सेनाले जनाएको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति जारी गर्दै भदौ २५ गते साँझ ५ बजेसम्म निषेधाज्ञा र त्यसपछि भदौ २६ गते बिहान ६ बजेसम्म कर्फ्यू लगाईएको जनाएको छ ।
सेनाले आन्दोलनको नाममा विभिन्न व्यक्ति तथा समूहहरूले व्यक्तिगत र सार्वजनिक सम्पत्तिमा घुसपैठ, तोडफोड, आगजनी, लुटपाट र बलात्कारको प्रयास जस्ता गम्भीर आपराधिक क्रियाकलाप गरिरहेकोले देशको समग्र शान्ति सुरक्षालाई मध्यनजर गर्दै कर्फ्यू लगाईएको स्पष्ट पारेको छ ।
निषेधाज्ञा र कर्फ्यू अवधिभर एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका सवारी साधन जस्ता अत्यावश्यक सेवाहरू सञ्चालन गर्न पाउनेछन् । आवश्यक सहजताका लागि नजिकैको सुरक्षा निकायसँग समन्वय गर्न पनि सेनाले सबैलाई अनुरोध गरेको छ।
सेनाले सैनिक, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी तथा आम नागरिकलाई सामाजिक सञ्जालमा फैलिने अफवाहको पछि नलागी आधिकारिक सूचनामा मात्र विश्वास गर्न आग्रह गरेको छ। साथै, राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न सबैलाई आह्वान गरेको छ।


परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।