महेन्द्रनगर–राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेशउत्कृष्ट बनेको छ । सुदूरपश्चिम प्रदेशले ५१ दशमलव ६ प्रतिशत अंक पाएर उत्कृष्ट हुन सफल भएको हो । आर्थिक वर्ष २०७९/०८० को मूल्याङ्कनमा सुदूरपश्चिम पाँचौँ स्थानमा थियो । अघिल्लो पटक पहिलो भएको कोशी प्रदेश यसपटक दोस्रो भएको छ । उसले ५० दशमलव ९ अंक प्राप्त गरेको छ । यस्तै, ४५ दशमलव ६ अंक पाएको बागमती तेस्रो, ४१ दशमलव ६ अंक पाएको कर्णाली चौथो, ४० दशमलव ८ अंक पाएको गण्डकी पाँचौँ, ३५ दशमलव ९ अंक पाएको लुम्बिनी छैटौँ र ३० अंक पाएको मधेश पुछारमा छ ।
यस्तै स्थानीय तहहरुमा देशभरमा डडेल्धुराको अमरगढी नगरपालिका पहिलो भएको छ । अमरगढी नगरपालिकाले ८१ दशमलव ७ अंक ल्याएको आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । यस्तै उत्कृष्ट पाँच स्थानीय तहमा अमरगढीसँगै इलामको सूर्योदय नगरपालिका, अर्घाखाँचीको सन्धीखर्क नगरपालिका, स्याङ्जाको कालीगण्डकी गाउँपालिका र आँधीखोला गाउँपालिका रहेका छन् । इलामको सूर्योदय नगरपालिकाले ८० दशमलव २ अंक ल्याएको छ भने अर्घाखाँचीको सन्धीखर्क नगरपालिकाले ८० दशमलव १, स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले ७८ दशमलव २, स्याङ्जाको आँधिखोला गाउँपालिकाले ७८ अंक ल्याएको छ ।
यस्तै महानगरपालिकातर्फ भरतपुर महानगरपालिका सबैभन्दा अगाडि रहेको छ । भरतपुरको ७६ दशमलव २ अंक आएको छ भने दोश्रोमा विराटनगर महानगरपालिका ७३ दशमलव ५, तेस्रोमा ललितपुर महानगरपालिका ६६ दशमलव ७, चौथोमा काठमाडौं महानगरपालिका ५४ दशमलव ३, पाँचौंमा पोखरा महानगरपालिका ५१ दशमलव ५ र छैटौंमा विरगञ्ज महानगरपालिका ४३ दशमलव १ अंक ल्याएका छन् ।
स्थानीय तहको शिक्षा, स्वास्थ्य, आन्तरिक आय, पुँजीगत खर्चको अवस्था, कूल विनियोजन रकमको अवस्था, संकलित करबाट प्रदेश सञ्चित कोषमा जम्मा गर्नुपर्ने रकम जम्मा गरे नगरेको अवस्था, पूर्ण खोप कार्यान्वयन, गर्भवती महिलाको जाँचको अवस्था लगायतका सूचकहरुमा आयोगले मूल्यांकन गर्ने व्यवस्था छ ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।