नयाँ खबर
धनगढी – नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र(ईआरओ) ले गरेको कार्यसम्पादन परीक्षणमा शिक्षा विकास निर्देशनालय, दिपायल डोटी देशभरमा टप भएको छ ।
ईआरओले आर्थिक वर्ष २०८१÷०८२ मा विभिन्न सूचकका आधारमा गरेको कार्यसम्पादन परीक्षणमा सुदूरपश्चिमको शिक्षा विकास निर्देशनालय देशभरका छ वटा विकास निर्देशनालयलाई उछिन्दै पहिलो भएको हो । शिक्षा विकास निर्देशनालय दिपायले सर्वाधिक ८३ दशमलव ३७ अंक प्राप्त गरेको छ । त्यसैगरी कोशी प्रदेशले ४९ दशमलव ७१, मधेशले ३९ दशमल ५१, बागमतीले ८० दशमल ८७, गण्डकीले ६६, लुम्बिनीले ५७ दशमल ९१ र कर्णालीले ७१ दशमल ०३ अंक प्राप्त गरेका छन्।
ईआरओको प्रतिवेदनअनुसार सात प्रदेशमध्ये सुदूरपश्चिम र बागमतीको कार्यसम्पादन स्तर ‘धेरै राम्रो’, गण्डकी र कर्णालीको ‘राम्रो’, कोशी र लुम्बिनीको ‘सामान्य वा सन्तोषजनक’ तथा मधेशको ‘कमजोर’ रहेको छ।
संघीय सरकारले महानिर्देशनालयलाई उपलब्ध गराएको कार्य विवरणअनुसार कामको प्रभावकारिता, गुणस्तर, समयपालना, मितव्ययिता तथा सेवाग्राहीलाई प्रदान गरिएको सेवाको अवस्थालाई आधार बनाएर स्वतन्त्र रूपमा मूल्याङ्कन गरिएको ईआरओले जनाएको छ ।
निर्देशनालयका महानिर्देशक दुर्गादत्त विष्टले कार्यालय देशभरमै पहिलो हुदा आफुहरुले गरीरहेको कार्यलाई थप प्रभावकारी र गुणस्तरीय बनाउनका लागि हौसला मिलेको बताए । ‘हामीलाई दिइएको जिम्मेवारी पूरा गर्न कार्ययोजना बनाएर अघि बढ्ने, बजेटमा मितव्ययिता अपनाउने र तोकिएको समयमै कार्यसम्पादन गर्ने हाम्रो प्राथमिकता हो,’ विष्टले भने, ‘यो मूल्याङ्कनले हामीले गरिरहेको कामलाई अझ प्रभावकारी बनाउन थप हौसला दिएको छ। आगामी दिनमा अझ उत्कृष्ट कार्यसम्पादन गर्ने गरी अघि बढ्नेछौँ।’
महानिर्देशक बिष्टले कार्यालयको उपलब्धि नेतृत्व र कर्मचारीको सामूहिक प्रयासको परिणाम रहेको बताए । आगामी दिनमा शिक्षा क्षेत्रमा अझ प्रभावकारी, गुणस्तरीय र सेवामुखी कार्यसम्पादन गर्ने उनले बताए ।
महानिर्देशक विष्टले नेतृत्व गरेका समयमा दुई जिल्ला डडेल्धुरा र दार्चुला क्रमशः दुई र तिन पटक कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट भएका छन् । उनी प्रमुख रहँदा २०६८, २०६९ र २०७० सालमा जिल्ला शिक्षा कार्यालय दार्चुला कार्यसम्पादनमा प्रथम भएको थियो। भने उनी प्रमुख रहँदा २०७१ र २०७२ सालमा जिल्ला शिक्षा कार्यालय दुई पटक कार्यसम्पादनमा प्रथम भएको थियो। त्यसबेला क्षेत्रीय शिक्षा निर्देशनालयले कार्यालयहरूको कार्यसम्पादन मूल्याङ्कन गर्ने गरेको थियो। उत्कृष्ट कार्यसम्पादन गरेबापत महानिर्देशक विष्टलाई ५० हजार रुपैयाँ नगदसहित उत्कृष्ट कर्मचारीका रूपमा पुरस्कृत समेत गरिएको थियो।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।